काठमाडौं– काठमाडौं चोभारमा निर्माणधीन सुख्खा बन्दरगाह निर्धारित समयभित्र नबन्ने भएको छ। योजनाअनुसार अबको ७ महिनाभित्रै काम सकिएर काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनुपथ्र्यो र स्थानीयको अवरोधको कारण निर्माणको काम थाल्न ६ महिना ढिला भएको थियो।
इन्टरमोडल यातायात विकास समितिका प्रमुख युवक डंगोललका अनुसार हालसम्म आयोजनामा ३० प्रतिशत मात्रै प्रगति भएको छ। योजनाअनुसार अहिलेसम्म ६० प्रतिशत काम सकिनुपरथ्यो। ‘ढिला सुरु भए पनि अहिले फिल्डमा फटाफट काम भएको छ, ‘डंगोलले भने, ‘रोकिएकै समयजति म्याद थप्दा आयोजना पूरा हुन्छ।’
स्थानीयवासीले सुरुमा त्यहाँको जग्गा सरकारले स्थानीयलाई नै फिर्ता गर्नुपर्ने माग अघि सारेका थिए। उनीहरुले पहिले सोही जग्गामा रहेको सरकारी सिमेन्ट उद्योगबाट पारिश्रमिक पनि भुक्तानी नपाएएको भन्दै आन्दोलनसमेत गरेको थिए। बन्दरगाह निर्माणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ३ माघ, २०७६ मा शिलान्यास गरेका थिए। नेपाल इन्टरमोडल यातायात विकास समितिले नै यो बन्दरगाह निर्माण गर्न लागेको हो।
यसअघि बन्दरगाह बन्ने स्थानमा हिमाल सिमेन्ट कारखाना थियो। कारखानाले वातावरणीय प्रदूषण गरेको भन्दै स्थानीयकोे चर्को विरोधपछि सरकारी सिमेन्ट कारखाना नै बन्द हुन पुगेको थियो। बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो। बन्दरगाह बनेपछि सामान आयात(निर्यातमा सहज हुने अपेक्षा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छ।
यहाँ चार लेयरमा कन्टेनर राख्न सक्नेगरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण गरिँदैछ। कोलकाता, विशाखापट्नम र चीनको समुन्द्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्ने योजना छ।