काठमाडौं– पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मङ्गलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने बताइएको छ। मौसमी प्रणालीमा छिटो–छिटो परिवर्तन आएका कारण केही दिन मौसम सफा हुने र फेरि बदलीसहित वर्षा तथा हिमपात हुने प्रवृत्ति दोहोरिएको मौमसविद् प्रतिभा मानन्धरले बताएका छन्।
‘कुनै वर्ष बर्खायाममा बढी सुख्खा भयो भने हिउँदमा बढी वर्षा हुन्छ’, मौसमविद् मानन्धरले भने। आज विकसित हुने मौसमी प्रणाली पश्चिमी भूभागमै भित्रिएर पश्चिमबाटै बाहिरिने र अन्य भूभागमा त्यसको प्रभाव नपर्ने जनाइएको छ।
मङ्गलबार देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भूभागमा आंशिक बदली हुने बताइएको छ। माघ १ गते देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाइएको छ। (रासस)