काठमाडौं – सरकारले ‘राष्ट्रिय एकताः योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ। अन्तराष्ट्रिय योग दिवस हरेक जुन २१ मा मनाइँदै आए पनि नेपाल सरकारले २०७२ सालदेखि माघ १ गते राष्ट्रिय दिवस पनि मनाउन थालेको हो।
माघ १ देखि ७ गतेसम्म केन्द्र, प्रदेश र स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाइनेछ। दिवसको तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।
दिवसबारे जानकारी दिन आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले योगलाई जीवन दर्शनका रुपमा विकास गरी नेपाललाई योगको उर्वर भूमिका रुपमा आन्तरिक र अन्तरराष्ट्रियरुपमा परिचित गराउन राष्ट्रिय योग अभ्यासक्रम निर्माण गर्ने तथा प्राविधिक धार र उच्चशिक्षामा समेत योग विषयको पठनपाठन गराउने तयारी गरिएको बताए। (रासस)