पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकता गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) गठन गरेपछि राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्षसहितका नेताहरुले पार्टी पुनर्गठनको तयारी गरेका छन्। दुई पार्टीको एकताप्रति असन्तुष्ट राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष दीपक बोहराको नेतृत्वमा पार्टी पुनर्गठनको तयारी भइरहेको संकेत बोहराले दिएका छन्। त्यसैगरी, लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) का उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्य, महामन्त्रीद्वय तीर्थप्रसाद श्रेष्ठ, केशवराज श्रेष्ठ, सहायक प्रवक्ता तेजनाराणय कँडेल लगायतका नेताहरु पनि राणा र लोहनीको मिलनप्रति असन्तुष्ट छन्। पार्टी एकता र असन्तुष्टिका विषयमा राप्रपा (प्रजातान्त्रिक) का वरिष्ठ उपाध्यक्ष दीपक बोहरासँग नेपाली पब्लिकले गरेको संक्षिप्त कुराकानीः
राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीचको एकताबाट तपाईंको असन्तुष्टि किन?
–हामीले पहिल्यैदेखि तीन वटै राप्रपाको एकताका निम्ति पहल गर्दै आएका हौँ। हाम्रो विचार प्रष्ट छ, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी दुई जना मात्रै मिलेर मुलुकको वैकल्पिक प्रजातान्त्रिक पार्टी निर्माण हुनै सक्दैन। राप्रपा अध्यक्ष कमल थापालाई पनि एकता प्रक्रियामा सामेल गराएर तीन वटै राप्रपाबीच एकता गरी एउटै राष्ट्रवादी शक्ति बनाउनु पर्छ भन्ने हाम्रो धारणा हो। अहिलेको आवश्यकता कुनै दुई नेता मात्र मिल्नु होइन, समग्र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका एकता हो।
अनि एकताको कुरा पनि गर्ने, तर एकता गरौँभन्दा पनि अड्को थाप्ने, यो कस्तो चरित्र हो?
–हो, हामीले एकताको कुरा गरिरहेका छौँ। तर, कोही २ जना वा ३ जना मात्रै मिलेर एकता गर्ने भनेको होइन। सबै एकठाउँमा आउनु पर्यो। बहस गर्नुपर्यो। र, तार्किक एकता हुनुपर्यो, त्यो नै एक मात्र विकल्प हो। लोहनी र राणाको अहिलेको एकता तमाम पार्टी कार्यकर्ताको भविष्यमाथि खेलवाड हो। यसमा मेरो सहमति छैन। यो दुई पार्टी बीचको एकता न हर्ष न विस्मातको अवस्था हो। यो एकताले पार्टीका तमाम कार्यकर्ता नेताहरुलाई समेटेको छैन। तीन वटै राप्रपाबीचको एकताले मात्र एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण हुँदै एउटा बलियो राष्ट्रवादी पार्टी निर्माण हुन्छ भन्ने मेरो ठम्याई हो। त्यसैले पनि दुई नेताहरुको यो अधकल्चो एकताप्रति मैले असहमति व्यक्त गरेको हुँ।
कमल थापाको नेतृत्वमा रहेको राप्रपासँग एकता गरेपछि चाहिँ तपाईहरु मान्ने हो?
–हाम्रो मुख्य सरोकार राप्रपाका सबै पार्टीबीच एकता गरी वैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माण हो। त्यसमा पशुपति शमशेर राणा, कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायत सबै नेताहरु एकठाउँमा आउनुपर्छ। बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने पहल भइरहेको अवस्थामा राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) का बीच एकताको पूर्ण र पर्याप्त होइन। तसर्थ सम्पूर्ण पार्टी नेता दुई नेताको बीचमा पार्टीका अन्य नेता–कार्यकर्ताहरुलाई विश्वास नलिई भएको एकताको कुनै अर्थ रहँदैन। त्यसैले तमाम नेता–कार्यकर्ताहरुलाई तीन वटैपार्टीबीच एकता हुनुपर्छ भन्नका लागि दबाब सिर्जना गर्न आग्रह गर्न चाहन्छु।
एकता मान्नु भएन, अब के गर्नु हुन्छ?
–राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय पदाधिकारीहरुसहित नेताहरु असन्तुष्ट हुनुहुन्छ। उहाँहरुसँग छलफल हुँदैछ। एकहप्ता पर्खिनुहोस्, हामी एउटा निर्णय दिन्छौँ।
अब असन्तुष्ट तपाईहरु कमल थापासँग एकता गर्ने हो?
–होइन। अहिले हाम्रो पार्टीमा छलफल भइरहेको छ। हामी अहिले राप्रपा (प्रजातान्त्रिक) मै छौँ। एकता हुँदा सबैसँग हुन्छ। कमल थापासँग मात्रै हुँदैन।
अनि अध्यक्ष राणाले त लोहनीसँग एकता गरेर राप्रपा (संयुक्त) बनाउनु भयो। अब दोश्रो वरियतामा तपाई नै हुनुहुन्छ। आफैँ अध्यक्ष भएर पार्टी पुनर्गठन गर्न लाग्नु भएको हो?
–केही हदसम्म हो। हामी एक हप्तामै एउटा निर्णयमा पुग्छौँ। त्यति बेलासम्म राप्रपा (प्रजातान्त्रिक) का नेता–कार्यकर्तालाई धैर्यधारण गरी बस्न अनुरोध छ।