चितवन, २१ माघ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओलीले नेतृत्वको वर्तमान सरकारले मुलुकलाई उत्तर कोरिया बनाउन खोजेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसले चितवनको नारायणगढमा आयोजना गरेको गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले भने, ‘ओली सरकारले देशलाई उत्तर कोरिया बनाउनु खोज्दै छ, स्वीट्जरल्याण्डको गीत गाएर उत्तर कोरियाली ढङ्गले नाच्न थालेको छ, तर, नेपाली कांग्रेस स्पात भएर उभिन्छ, हामी कुनै हालतमा मुलुकलाई उत्तर कोरिया हुन दिने छैनौँ।’
प्रवक्ता शर्माले सुतेको बाघलाई जिस्काउन आउनेहरुको हालत नराम्रो हुने चेतावनी दिए। उनले भने, ‘जिस्काउन जो आयो, त्यो गयो।’ राणाशाहीहरुले कांग्रेसलाई कमजोर ठानेकै कारण पतन भएको स्मरण गरे।
कांग्रेस पार्टी कुनै बेला चुनाव हारेको र कुनै बेला जितेको प्रष्ट्याउँदै शर्माले अहिले कांग्रेसलाई कमजोर देख्ने ओली सरकारको हालत राम्रो नहुने बताए। उनले दुईतिहाइ दम्भ नदेखाउन चेतावनी दिए। ‘दुईतिहाइ त हिटलरसँग पनि थियो, हिटलरको अवस्था के भयो, स्मरण गर्नुहोस्, ,’ शर्माले भने।
शर्माले आफैँले बनाउने भनिएको बूढीगण्डकी परियोजनालाई ओली सरकारले चीनको गेजुवा कम्पनीलाई किन दियो भनेर प्रश्न गरे। ‘कम्युनिष्टमा भोट हाल्नेहरुले ओली सरकारलाई सोधेका छैनन्, भने सोध्नुस्,’ उनले भने।
गोविन्द केसीले अनशनमात्र तोड्नु भएको बताउँदै प्रवक्ता शर्माले केसीले मुद्दा नछोडेको टिप्पणी गरे। ‘विवेक नभएको सरकारको अगाडि बाँसुरी बजाएर बस्दिन भनेर अनशन छोड्नु भएको हो,’ उनले भने। शर्माले निर्मला पन्तको हत्यारालाई समात्न ओली सरकारलाई कसले रोक्यो भन्दै ओली सरकारलाई प्रश्न गरे।