काठमाडौं — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप २१ हजार ६ सय गुनासो सम्बोधन गरेको छ। आज बसेको कार्यकारी समितिको बैठकको निर्णयअनुसार थप २१ हजार ६ सय गुनासोको नजिता निकालेको हो।
त्यसैगरी ८ सय ४१ जना पुनर्निर्माण लाभग्राही कायम भएका छन् भने ८ सय ३६ जना प्रवलीकरण लाभग्राही भएका छन्। १८ हजार २ सय जना गुनासोकर्तालाई भने गैरलाभग्राही कायम गर्ने निर्णय भएको छ। प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेका अनुसार फिल्डबाट प्राप्त तथ्यांकलाई प्राधिकरणले तोकेका मापदण्डका आधारमा विश्लेषण गरी पुनर्निर्माण लाभग्राही, प्रवलीकरण लाभग्राही अथवा गैरलाभग्राही कायम गर्ने गरिन्छ।
यसअघि तीनपटक बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले १ लाख १३ हजार गुनासो सम्बोधन गरी नजिता निकालेको थियो। त्यसमा ११ हजार ५ सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र ५ हजार ६ सय ८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए।
दोस्रो चरणको छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत १ लाख ८९ हजार गुनासो संकलन गरिएको थियो। त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इन्जिनियरहरुले विश्लेषण गर्ने कार्य जारी छ। विश्लेषण सकिएपछि ती गुनासा पनि प्राधिकरणले सम्बोधन गर्नेछ। गुनासो विश्लेषणका लागि ५० जना इन्जिनियर परिचालन गरिएको छ। दोस्रो चरणको छुट तथा पुनःजाँच अघि ३ लाख ६ हजार ८ सय ५८ गुनासो दर्ता भएका थिए। ती सबैको पुनरावलोकन भइसकेको बतार्ईएको छ।