काठमाडौं– भारतबाट प्याज निर्यात नभए पछि नेपाली व्यवसायीहरुले चीनबाट आयात बढाएका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा चीनबाट मात्रै १० लाख किलो सुकेको प्याज आयात भएकोे छ।
उक्त अवधिमा नेपालमा कुल १८ लाख ३५ हजार २ सय ८२ किलो सुकेको प्याज आयात भएको हो। जसमध्ये १० लाख ६५ हजार ९१ किलो प्याज चीनबाट भित्रिएको हो भने ७ लाख ७० हजार १९१ किलो प्याज भारतबाट भित्रिएको छ। नेपालले पाँच महिनामा चीनबाट प्याज किन्न ८ करोड २१ लाख खर्च गरेको छ भने ३ करोड ५० लाखको मात्र प्याज भारतबाट किनेको छ।
कालिमाटी तरकारी बजार समितिले मंगलबारका लागि भारतीय सुकेको प्याजको प्रतिकिलो मूल्य थोकमा १२८ रुपैयाँ अधिकतम् तोकेको थियो। तर खुद्रामा भारतीय प्याजको प्रतिकिलो मूल्य समितिले नै १५५ रुपैयाँ प्रतिकिलो तोकेको थियो। जबकि भन्सारको विवरण अनुसार भारतीय प्याजको भन्सार मूल्य औसत ४५ रुपैयाँ ५५ पैसा मात्रै रहेको थियो। यो भन्सार बिन्दुमा तोकिएको बिजक र बजारको मूल्यमा तीन तिहाइले बढी मूल्यअन्तर हो।
यस्तै चिनियाँ प्याज भन्सार बिन्दुमा व्यावसायीले उल्लेख गरेअनुसार ७७ रुपैयाँ ११ पैसा प्रतिकिलो छ। तर कालिमाटी तरकारी बजारले चिनियाँ सुकेको प्याजको ९८ रुपैयाँ थोक र १२५ रुपैयाँ खुद्रा मूल्य तोकेको छ। यसका अलावा उपभोक्तासम्म पुग्ने प्याजको मूल्य अझ धेरै छ। औसतमा प्याजको भन्सार बीजक र बजार मूल्यमा भारी अन्तर देखिन पुगेको छ।