काठमाडौं– नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको आरोमा पक्राउ गरिएका १ सय २२ जना चिनियाँ नागरिकलाई दुर्ई समूहमा चीन फर्काइने भएको छ।
प्रहरीले अपराधिक पृष्ठभूमि नभेटिएपछि अध्यागमन विभागलाई जिम्मा लगाएकाहरुलाई ८८ र ३४ जनाको गरी दुई समूह बनाएर ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानमार्फत चीन फर्काउन लागिएको हो।
बुधबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण हुने विमानमा चिनियाँ सुरक्षा अधिकृत पनि हुनेछन्। अध्यागमन ऐन उल्लंघन गरेवापत दुई समूहका व्यक्तिलाई बेग्लाबेग्लै कारबाही भएको छ। विभागका अनुसार ८८ जनालाई १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। विभाग स्रोतको अनुसार १२२ चिनियाँको जरिवाना दूतावासले तिरिदिएको हो।
अध्यागमन ऐनको दफा १० (४) बमोजिम उनीहरुलाई ४ वर्ष नेपाल प्रवेश गर्न निषेध पनि गरिएको छ र पक्राउ परेका चिनियाँ नागरिकले पर्यटक भिसाको दुरुपयोग गरेको विभागको निश्कर्ष छ। पक्राउ परेका मध्ये हु चेङगुई मात्र व्यापारिक भिसामा नेपाल आएको देखिएको विभागले जनाएको छ।
राहदानी नं. ईजी ३८९३५०३ वाहक उनले व्यापारिक आईटी कम्पनी खोल्ने भन्दै व्यापारिक भिसा लिएका छन्। उनी सम्बद्ध कम्पनीबाट व्यापारिक भिसा प्राप्त गर्ने अन्य भने पक्राउ परेका छैनन्।