काठमाडौँ, २१ माघ – स्वतन्त्र राष्ट्रिय अभियानका अभियन्ता स्वागत नेपालले देशविरोधी कार्य गर्ने जो कोहीलाई पनि घोक्रेठ्याक लगाउन आफूहरू तयार रहेको बताएका छन्।
काठमाडौँको बालुवाटारमा २५ प्लस समूहद्वारा आयोजित संसदमा प्रस्तावित नागरिकता विधेयक २०७५ बारे छलफल कार्यक्रमा बोल्दै अभियन्ता नेपालले देशद्रोही जो कोहीलाई पनि घोक्रेठ्याक लगाउन तयार रहेको बताएका हुन्।
सीमावर्ती क्षेत्रमा नेपाली नागरिकतामाथि जथाभावी खरिद बिक्री गर्ने जो कोहीलाई पनि नछोड्ने नेपालले बताए। देशको शक्ति अब हामी आफैँ बन्नुपर्नेमा जोड दिँदै नेपालले नेपालमा भएका सबै राजनीतिक दलहरू बेग्लाबेग्लै नाम गरेका एउटै पार्टी रहेको नेपालले बताए।
उनले भने, ‘देशै टुक्र्याउँछु् भनेर निर्वाचनका घोषणापत्रमै लेख्ने राजेन्द्र महतोलाई निर्वाचित गराउने को? सबैभन्दा राष्ट्रवादी एमाले र माओवादी, मोहन्थ ठाकुरलाई जिताउने नेपाली कांग्रेस, हृदयश त्रिपाठीलाई जिताउने को? भर्खरैको निर्वाचनमा शेरबहादुर देउवाले हँसिया हथौडामा र प्रचण्डले रुखमा भोट हालेको होइन? एमाले र माओवादीले राप्रपाको महामन्त्री राजेन्द्र लिङदेनलाई जिताएको होइन?’
प्लस २५ समूह र स्वतन्त्र राष्ट्रिय अभियान सहकार्य गरेर देशको शक्ति बन्नु पर्ने नेपालले बताए। सिमावर्ती क्षेत्रमा नागरिकता बिक्री वितरण गर्ने समुहप्रति आक्रोशित देखिएका नेपालले भने, ‘७७ वटै जिल्लामा स्वतन्त्र राष्ट्रिय अभियानको संगठन छ, तिनीहरू जहाँ जान्छन् त्यही जाउँ तपाईहरू शान्तिपूर्ण भन्दै थमथम्याउँदै गर्नुहोस्, हामी उचाल्ने पछार्ने सबै गछौँ।’
कार्यक्रमा सहभागी २५ प्लस समूहका सदस्य ज्योतिकिरण रिजालले नागरिकता ऐन तत्काल सच्याउनु पर्ने बताएका छन्। उनले नागरिकता वितरणका विषयमा यो ऐन राष्ट्रघाती रहेको टिप्पणी गर्दै रिजालले सरकारले यो ऐन नसच्याए राष्ट्रिय मुक्तिको आन्दोलन शुरु गर्ने उद्घोष गरे।
कार्यक्रममा बोल्दै डा. शास्त्रदत्त पन्तले नागरिकता विधेयक २०४७ पुन लागू गर्नुपर्ने बताए। त्यसैगरी कार्यक्रमा नेपाल आर्मीका पूर्व अफिसर विवेक शाह, प्लस २५ समुहका सदस्य देविराम थापा, पूर्व डिएसपी केपी शर्मा पन्थी, वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी, डा. गोविन्द थापा, डा. ऋषिराम लामिछाने तथा नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले धारणा राखेका थिए।





