कञ्चनपुर, २१ माघ – सरकारका पछिल्ला गतिविधिप्रति आपत्ति जनाउँदै देशभर आन्दोलित बनेको कांग्रेसले कञ्चनपुरमा बृहत प्रदर्शन गरेको छ।
नेपाली कांग कञ्चनपुरको आयोजनामा महेन्द्रनगर बजार क्षेत्रमा सोमबार प्रदर्शन गरिएको हो। पार्टी कार्यालयबाट सुरु भएको र्यालीमा नेपाली कांग्रेसका हजारौँ नेता कार्यकर्ताको सहभागी थिए।
र्याली बजार क्षेत्रमा प्रदर्शनपछि मदन चोकमा बसेको कोणसभालाई कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले दुईतिहाइ दम्भको आडमा चलिरहेको आधिनायकवादी सरकारको विरुद्धमा कांग्रेस आन्दोलित बनेको बताए।
उनले केपी ओली सरकारका गतिविधिबाट अन्तर्राष्ट्रिय जगत नै चकित भएको बताए। दुईतिहाइको दम्भमा सरकारले मनोमानी तरिकाले काम गरिरहेको र मानवताविरुद्धका जघन्य अपराधमा दोषीलाई उक्काउन र निर्दोशलाई फसाउने खेलले सरकारको अधिनायकवादी चरित्र स्पष्ट भएको उनको भनाई छ। साथै सरकार भ्रष्टाचारको नमुना बनेको नेता लेखकको आरोप छ।
साथै कांग्रेसकाले चालेका हरेक आन्दोलनले सार्थकता पाएको बताउँदै नेता लेखकले ‘नेपाली कांग्रेसको आन्दोलनले राणाशासनको पतन भयो, राजसंस्थाको अन्त्य भयो, अबको पालो नेकपा सरकारको अधिनायकवाद ढाल्ने नै हो, कांग्रेस जसको पछि लाग्छ त्यो समाप्त हुन्छ,’ उनले भने।
त्यस्तै, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले पनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए। उनले सरकारको कामको समीक्षा सय दिनमै हुने, तर कांग्रेसले एक वर्ष पर्खिएको बताउँदै ‘कांग्रेसले सरकारको कामको समीक्षा गरिरहेको छ, अब चुप लागेर बस्न सकिँदैन,’ उनले भने।
सरकारका तीन वटै तहले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको ठहर छ। त्यस्तै वर्तमान सरकारले आफ्नो कार्यकालमा सञ्चालन गरिका योजनामा बजेट कटौती गरिएको कांग्रेस कञ्चनपुरको आरोप छ। कोणसभामा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशी लगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।