पोखरा, २१ माघ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको अनुहार हेर्न मन लागे आफ्नै अनुहार एकपटक ऐनामा हर्न आग्रह गरेका छन्।
कांग्रेसले नेकपा नेतृत्वको सरकारविरुद्ध देशव्यापी रुपमा गरेको प्रदर्शनलाई सम्बोधन गर्न पोखरा पुगेका उनले यस्तो बताएका हुन्।
सभालाई सम्बोधन गर्ने क्रममा थापा सरकारविरुद्ध कडा रुपमा उत्रिए। सरकारले संसदलाई मन्त्रालय जस्तै बनाएको उनको आरोप छ। ‘संसदको सभामुख नेकपाको कार्यकर्ता जस्तै हुनुहुन्छ,’ उनले भने, ‘निर्वाचित भएर आएको सरकार हुँदैमा लोकतान्त्रिक सरकार हो भन्ने हुँदैन। कानुन सबैले पालना गर्नुपर्छ।’
वर्तमान सरकारलाई दुईतिहाइको दम्भ रहेको उनको आरोप छ। सरकार जनताको पक्षमा भन्दा पनि माफियाको पक्षमा उत्रेको उनको भनाई छ।
डा. गोविन्द केसीको आमरण अनसनको प्रसंग उप्काउँदै थापाले भने, ‘अहिलेको सरकारलाई आम नेपालीको चिकित्सा शिक्षामा सहज पहुँच पुर्याउनु पर्छ भन्ने मान्छेको चिन्ता छैन। चिकित्सा क्षेत्रमा व्यापार गर्नेको चिन्ता छ।’
मुलुक संघीय शासन प्रणालीमा गइसके पनि प्रधानामन्त्री संघीयता खारेज गर्न उद्दत रहेको आरोप लगाए। सरकार गलत बाटोमा हिँडेकाले सचेत गराउन देशव्यापी विरोध प्रदर्शन गरेको उनको भनाई छ। ‘यो त ट्रेलर मात्र हो, फिल्म अझैं बाँकी छ,’ उनले भने।
यसैबीच, नेवि संघ कास्कीले थापालाई सभालाई सम्बोधन गर्ने क्रममा कालोझण्डा देखाएको छ। पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको भन्दै भर्त्सना गरेपछि उनलाई नेवि संघका नेताहरुले कालो झण्डा देखाएका हुन्।