काठमाडौं — पूर्व पर्यटनमन्त्री दिलनाथ गिरीले नेपाल भ्रमण वर्ष–२०२० सफल होस भन्ने शुभकामना दिए। तर, विदेशमा भ्रमण वर्षको लागि प्रभावकारी प्रचारप्रसार नभएको उनको गुनासो छ। उनले भने,‘म भर्खरे युरोपका विभिन्न देश र अष्ट्रेलियाको भ्रमण गरेर स्वदेश फर्किएको छु।
त्यहाँ मैले नेपालको भ्रमण वर्षको खासै प्रचारप्रसार भएको देखिँन्। नेपालमा चाहीँ धेरै हल्लाखल्ला चलेको छ। भ्रमण वर्ष भन्नेबत्तिकै विदेशीहरुलाई नेपाल ल्याउने कुरा हो। त्यसको लागि त विदेशमा राम्रो प्रचारप्रसार हुनुपर्ने हो नि।’
उनले आर्थिक दृष्टिकोणले पनि नेपालको समृद्धिमा ठूलो छलाङ मार्ने क्षेत्रको रुपमा पर्यटनलाई लिन सकिने बताए। उनले भने,‘विश्वमा नभएका चिजहरु नेपालमा प्राप्त छन्। नेपाल हिन्दू दर्शनको लागि पनि विश्वमै परिचित छ। यो देवभूमी हो। ऋषिमुनीहरुको भूमी हो। ज्ञान भूमी हो।’
भ्रमण वर्षको प्रचारप्रसारको लागिमात्रै १ अर्ब ५० करोड बजेट छुट्याईएको सुनाउँदै तर सोअनुसार काम नभएको उनको संकेत थियो। उनले भने,‘होमवर्क मैले राम्रो देखिन्। बास्तवमा पत्रकार साथीले अघि भन्नुभयो, काठमाडौंको जाम, खाल्डाखुल्डी यस्तो छ, पर्यटक के हेर्न आउने ?’
उनले नेपाली जहाज युरोपको आकाशमा ब्ल्याक लिष्टमा रहेको सुनाउँदै यो हटाउनको लागि ध्यान दिनुपर्नेपनि बताए। भ्रमण वर्षको प्रचारप्रसारको लागि सरकारले मिडियालाई उपयोग गर्नुपर्ने बताए। उनले भने,‘विदेशमा भ्रमण वर्षको प्रचारप्रसारको कुरा गर्दा चार तारे र पाँच तारे केही होटलमा ब्यानर झुण्ड्याईएको छ, अनि दुतावासले सानो अन्तरक्रिया गर्ने गरेका छन्। यो त पूरानो पद्धती हो।’ भ्रमण वर्षको प्रचारप्रसारको लागि सामाजिक सञ्जाललाई पनि भरपुर उपयोग गर्नुपर्नेथियो भन्ने उनको सुझाव थियो।