काठमाडौं–पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चोभारमा रहेको सरकारी जग्गामा अन्तर्रा्ष्ट्रिय सम्मेलन निर्माण गर्ने योजना अघि सारेको छ। पर्यटन मन्त्रालयले सो सम्मेलन केन्द्रमा लगानी गर्न बैंकसँग प्रस्ताव राखेको छ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चोभारमा ८ सय रोपनी सरकारी जग्गा खाली बसेको भन्दै यहाँ अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउने बताए। सोमबार नेपाल भ्रमण वर्षको तयारीका सम्बन्धमा बैंक, बीमा तथा अन्य वित्तीय संस्थाको प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो जानकारी दिएका हुन्।
एकसाथ ठूलो संख्यामा मानिस अट्नेगरी अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र बन्दैछ। ८/१० अर्ब लगानी लागए। तपाईहरुले लगानी गर्नुस्, त्यसलाई सरकारले सहजीकरण गर्छ,’ उनले भने। सचिव अधिकारीका अनुसार चोभारमा अत्याधुनिक अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रसहित दुई वटा पाँचतारे होटेल बनाउन पुग्ने जग्गा छ। एकसाथ १ हजारभन्दा बढी सवारी साधन पार्किङको व्यवस्थापन गर्न सकिन्छ। साथै, १ लाखभन्दा बढी मानिसलाई क्याटरिङको व्यवस्थापन गर्न सकिने अधिकारीले बताए। यसबाट नेपालमा सभा–सम्मेलनका माध्यमबाट हुने पर्यटक आगमन अझ वृद्धि हुने उनको भनाइ छ।
सचिव अधिकारीले रारा, खप्तडलगायत सुन्दर पर्यटकीय स्थानमा पूर्वाधारको अभाव रहेको भन्दै यस्ता गन्तब्यमा पनि बैंकहरुले लगानी गर्न सक्ने सम्भावना औल्याए। जवाफमा बैंकका अधिकारीहरुले भने बैंकले परियोजनामा आफैं लगानी गर्न नसक्ने भन्दै लगानीकर्तालाई ऋण प्रवाह गर्न सकिने बताएका थिए। बैंकर्स संघका नवनिर्वा्चित अध्यक्ष भुवन दाहालले कुनै कम्पनीमार्फत ऋणको प्रस्ताव आएमा पर्यटन क्षेत्रमा लगानी गर्न बैंकहरु तयार रहेको उल्लेख गरे।
कार्यक्रममा मुलुकभित्र पर्यटक आगमन बढाउने हो भने पूर्वाधार विकासमा ध्यान दिन बैंकरले सरकारको ध्यानाकर्षण गराएका थिए। निर्माणको अन्तिम चरणमा रहेका विमानस्थललाई छिटो पूरा गर्न र निजगढ विमानस्थलको निर्माण थाल्न उनीहरुले सरकारलाई सुझाव दिएका छन्।