चितवन– क्रुजसिपको नारायणी नदीमा सफल परीक्षण भएको छ। आाइतबार २ सय २० यात्रु क्षमताको क्रुजसिपमा २५ जना यात्रु राखेर सफल परीक्षण गरिएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए।
भारतका प्राविधिक टोलीले सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’ वरपर परीक्षण गरेको कँडेलले बताए। उनको अनुसार अब सिपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ।
क्रुज सिपको उद्घाटन राष्ट्रपति बिद्या देबी भण्डारीले गर्ने तयारी गरिएको कँडेलले जनाए। उनको अनुसार ठ्याक्कै यति समयमा सिप तयार हुन्छ भनेर भन्न सकिदैन तर सक्दो चाँडो उद्घाटन गर्ने हिसाबले काम भइरहेको छ।
कम्पनीले उक्त क्रुजसिपको निर्माण कार्य गत चैतबाट सुरू गरिएका थियो र गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने दाबी गरेको थियो। तर स–साना प्राविधिक कामले ढिला हुन पुगेको कँडेलको भनाई छ।
अब क्रुजसिपको काम पनि अघि बढाउँदै बीचबीचमा परीक्षण पनि गर्दै लैजाने कम्पनीको योजना रहेको छ। १५ करोड लगानी गरेर बनाइएको क्रुजसिप साढे दुई तलेको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रु सयर गर्न मिल्नेछ।
क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ। क्रुजसिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरीत दिशामा चल्न सक्छ। क्रुजमा डबल इन्जिन हुनेछ।