काठमाडौं– आज डिसेम्बर २२ तारिख, अर्थात् वर्षकै छोटो दिन। आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ।
आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ। रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ।
साढे १० घण्टा मात्रै उज्यालो हुने र आज थोरै समयमात्र घाम लाग्ने छ। चिसो मौसमका कारणले पनि नेपालका अधिकांश स्थानमा घाम धेरैबेर देखिन छाडेको छ।
यसको विपरित दक्षिणी गोलार्धका लागि सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो। भोलीदेखि विस्तारै दिन लामो र रात छोटा हुँदै जाने छ।
यसको महशुस हुन कम्तिमा १५ देखि २० दिन लाग्ने छ। डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ।
थुप्रै देशमा यसलाई उत्सवको रुपमा पनि मनाइन्छ।आयरल्याण्डमा मानिसहरु पाँच हजार वर्ष पुरानो न्यूग्रेन्ज नामको चिहानमा बनेको विशाल गोलो भवनलाई सूर्यको उज्यालोमा चम्किरहेको हेर्न जम्मा हुने गर्छन्। चीनमा यसलाई डोंग्जी फेस्टिबलको रुपमा मनाइन्छ।