काठमाडौं – राष्ट्रिय ख्रिष्टियन महासंघ, यही पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रिष्टमसको सार्वजनिक विदा दिन माग गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघले सो माग गरेको हो।
महासंघले अघि सारेका मागहरुमा इसाई समूदायको महान पर्व ख्रिष्टसमसमा सार्वजनिक विदा दिनुपर्ने,नेपाल सरकारसँग भएका ६ बुँदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय ख्रिष्टियन आयोग गठन तथा नेपाली ख्रिष्टियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, नेपाल सरकारसँग भएको ३ बुँदे सहमति अनुसार नेपाली इसाई समूदायको लागि तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने र भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता) ऐनका परिच्छेद ९ को १५७ र १५८ भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने रहेका छन्।
नेपालमा करिब १२,५०० भन्दा बढि चर्च (मण्डली) हरु रहेका छन्। महासंघले भनेको छ,‘३० लाखको संख्यामा नेपाली ख्रिष्टियनहरु रहेको हाम्रो देश नेपालमा वि.सं. २०६४ देखि २०७२ सालसम्म निरन्तर रुपमा ख्रिष्टियनहरु महान पर्व ख्रिष्टसमसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको र वि.सं. २०७३ सालमा काटिएको विदालाई पूनः सार्वजनिक विदा कायम गरेको थियो। उनले सार्वजनिक विदासम्बन्धी बनेको पूनरावलोकन समितिले पनि १३ वटा सार्वजनिक विदाभित्र ख्रिष्टसमसलाई पनि समावेश गरिएको उनले सुनाएका थिए।