काठमाडौं– काठमाडौं उपत्यकामा दुर्घटना बढ्नुको प्रमुख कारणमध्येको एक हो मादक पदार्थको सेवन। मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु कहिले आफ्नै ज्यान लिन्छन् भने कहिले अरुको ज्यान लिन्छन्।
गत शनिबार बुढानिलकण्ठमा चालकको चरम लापरवाहको कारण एक महिलाकाे ज्यान गयाे। मादक पदार्थ सेवन गरी कार चलाएका एक युवकले ३८ वर्षिय महिलालाई ठक्कर दिए। दुर्घटनापछि उक्त महिलालाई उपचारका लागि न्यूरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे। दुर्घटनामा ज्यान गुमाउनेमा गोरखा घर भइ विष्णुमति बस्ने लीला देवकोटा हुन्।
बिहानै मन्दिरको दर्शन गरेर फर्कँदै गरेकी उनलाई करिब साढे १० बजे महाराजगञ्जतर्फ जाँदै गरेको बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार कारका चालक थिए २१ वर्षीय पृथ्वी मल्ल। उनीसँगै कारमा उनका एकजना केटा साथी तथा दुई केटी रहेको प्रतक्ष्यदर्शी बताउँछन्।
बिहानै नसामा तल्लिन उनले महिलालाई ठक्कर दिएलगत्तै कारबाट दुई जना महिला पनि उत्रिएका थिए। तर पहिचान हुनुअघि नै उनीहरु त्यहाँबाट बेपत्ता भए। अहिले कारका चालक मल्ल प्रहरी नियन्त्रणमा रहेका छन्। उनीमाथि मुद्धा चलाउनुको साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
दुर्घटना भएपछि कारबाट बाहिर निस्किएका केटीहरु को थिए त? धेरैले चासो देखाएको विषय हो यो। एका बिहानै मादक पदार्थ सेवन गरी अनियन्त्रित रुपमा कारमा हुइँकिरहेको टोलीमा नेपाली मोडल तथा अभिनेत्री परमिता आरएल राणा पनि रहेको बताइएको छ। प्रहरीले भने यसबारे पुष्टि भने गरेको छैन।
दुर्घटना हुनुको अघिल्लो राति मल्ल र मास्के परमिता राणा र उनको साथी मनिसा महर्जनको साथमा ठमेलको क्लब ‘द लर्ड अफ ड्रिङ्क’ मा सँगै थिए। उनीहरुले त्यहाँ खिचाएको फोटोबाट पनि उक्त कुराको पुष्टि हुन्छ। घटनाकाे शिलशिलाइ नियाल्दा शुक्रबार बेलुका १२ बजेसम्म सँगै हुनु, शनिबार दुर्घटना हुनसाथ फरार हुनुले पनि परमिता र उनकी साथी कारमा सँगै रहेको सजिलै अनुमान लगाउन सकिन्छ। यद्यपी प्रहरीले भने कार चालकलाई मात्र कारबाही हुने जनाउँदै चालकका साथी मास्केलाई छोडिसकेको छ।