काठमाडौं– नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो। नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे।
‘अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन राम्रो सेवा प्रदान गर्न लाग्नुहोस, उनले भने। व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्टरूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो। अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताए।
प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिएका छन्। महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गरेको थियो। विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ। (रासस)