काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयबाट भद्रकाली मन्दिर निस्कने सडकमा पेटी एवं ड्रेन निर्माण जारी रहेको छ। मुलुकको प्रशासनिकस्थल सिंहदरबारको प्रदेशद्वारमा अवस्थित सडक खण्ड सडक डिभिजन कार्यालय काठमाडौँले हालै कालोपत्र गरेको थियो।
यहाँ रहेका विभिन्न कार्यालयले सहयोग जुटाएर ड्रेन तथा पैदलमार्गका लागि पेटी बनाउने काम अगाडि वढाएका थिए। ड्रेनको व्यवस्था नहुँदा वर्षाद्का समयमा यहाँका कार्यालय जलमग्न हुने गरेका थिए। सवारी र पैदल हिँड्नसमेत समस्या रहिआएको थियो। ड्रेन र पैदलमार्ग निर्माणमा रु ७० लाख ३१ हजार लाग्ने प्रारम्भिक लागत तयार भएको नेपाल टेलिकमकी सहायक सूचना अधिकारी सीता खनालले जानकारी दिए।
उनले भद्रकाली प्लाजा क्षेत्रमा रहेका सबै कार्यालयले ती कार्यका लागि सहयोग जुटाउने भनिए पनि नजुटेसम्म आवश्यक बजेट टेलिकमले नै उपलब्ध गराएको बताएका छन्। यसअघि यो सडकलाई युनियन नेटवर्क इन्टरनेशनल (युएनआई) मार्ग नामाकरण गरी कालोपत्र, बगैँचा निर्माणका लागि पहल गरिएको थियो। कर्मचारीको अन्तर्रा्ष्ट्रिय सङ्गठन रुपमा रहेको युएनआईले केही बजेट राखी बाँकी काठमाडौँ महानगरपालिकाको समेत सहयोगमा ती काम अघि बढाइए पनि विविध कारणले बीचमै अल्झिएको थियो।
हाल सडक ६.५ मिटर चौडाइ, एक मिटर पेटी र एक मिटर ढल निर्माण गरिँदैछ। सिंहदरबार भद्रकाली सडक नामाकरण गरिएको यो सडक ४०० मिटर लम्बाइ कालोपत्र गरिएको हो। अन्यत्रै विनियोजन गरिएको बजेटबाट यो सडक निर्माण गरिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कैलाशकुमार श्रेष्ठले बताएका छन्।
पेटी बनाएपछि इच्छुमती (टुकुचा) माथिको पुल क्षेत्रमा के गर्ने भन्ने समस्या रहेको जनाइएको छ। पुलसमेत जीर्ण भइसकेकाले नयाँ हाल्न सडक डिभिजन कार्यालय काठमाडौँसँग माग गरिएको छ। सडकको तल्लो भागमा पेटी निर्माण गरिए पनि माथिल्लो भागमा युएनआईले बगैँचा बनाउन सक्ने गरी ठाउँ छोडिएको छ। (रासस)