कञ्चनपुर– दुई दिनको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा व्यापक क्षति पुगेको छ। गत शुक्रबार र शनिबारको वर्षाका कारण सुकाउनका लागि राखिएका कच्चा इँटामा क्षति पुगेको हो।
महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष बलदेव बुडालका अनुसार सुकाउनका लागि राखिएका करीब रु १० करोड बढीका कच्ची इँटामा क्षति पुगेको छ। ‘मौसममा आएको एकाएक परिवर्तनका कारण व्यवसायीले इँटा जोगाउन नसक्दा क्षति पुगेको छ’, उनले भने।
कैलाली र कञ्चनपुरमा ७० बढी इँटा उद्योग सञ्चालनमा छन्। दुवै जिल्लामा गरी वर्षाले करीब रु १५ करोड बढीका इँटामा क्षति गरेको छ।
प्रत्येक इँटा उद्योगमा रु १० लाखदेखि रु २० लाखसम्मको क्षति पुगेको इँटा व्यवसायीको भनाइ छ। व्यवसायीले काँचो इँटाको बिमा गर्ने व्यवस्था मिलाइदिनसमेत सरकारसँग माग गरेका छन्। (रासस)