डोल्पा — हिमाली जिल्ला डोल्पामा हिमपात भएका कारण बार्षिक परिक्षा नै रोकिएको छ।
ठूलीभेरी नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयका विद्यार्थिहरुको नेपाली विषयको परीक्षा रोकिएको हो।
आज बिहानदेखी लगातार भईरहेको हिमपात सँगै बढेको अत्याधिक चिसोले गर्दा विद्यार्थिहरु परिक्षामा सामेल हुन नसकेका कारण परिक्षा रोकिएको ठूलीभेरी नगरपालिकाले जनाएको छ।
प्रश्नपत्र एउटै भएकाले पनि अन्य विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या भएको कारण परिक्षा नै रोक्नुपर्ने भएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए। विद्यालयका करीब दुई हजार विद्यार्थीले नेपाली विषयको परीक्षा दिन पाएनन्। मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने छ।
पुस र माघमा भारी हिमपात हुने भएकाले वार्षिक परीक्षा सम्पन्न गरेर दुई महिनाका लागि सम्पूर्ण विद्यालय बन्द हुने गरेको छ।