चौतारा– विदेशी विनिमय मुद्रामा अदालतबाट दोषी सावित भई फरार रहेका सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका– २, तातोपानी निवासी ३२ वर्षीय गोम्दे तामाङलाई कारागार चलान गरिएको छ।
जिल्ला अदालत सिन्धुपाल्चोकले विसं २०७३ वैशाख २२ गते गरेको फैसलाले उनलाई एक महिना कैदसहित रु एक करोड ८६ लाख १४ हजार ९८९ जरिवाना तोकेको थियो।
लामो समयसम्म फरार रहेका तामाङलाई लुकिछिपी बसेका अवस्थामा सोमबार प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
विदेशी विनिमय नियन्त्रण ऐनअन्तर्गत तोकिएको जरिवाना तिर्न नसकेपछि दोषी तामाङलाई थप पाँच वर्ष कैद सजाय तोकी आज कारागार चलान गरिएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले बताए। (रासस)