चितवन– रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशाला हेर्नेको घुँइचो लागेको छ। रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न सोमबार २ हजार ५ सय जना पुगेका थिए। रंगशाला प्रवेश गर्न २० रुपैयाँको टिकट लिइने गरेको छ।
विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ। धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले सोमबार भ्रमण गर्न आएको एक समूहले रङ्गशाला निर्माणका लागि ६० हजार रुपैयाँ सहयोगसमेत गरेको बताए।
राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो। दश दिनअघिदेखि प्रवेशको व्यवस्था मिलाइएपछि दैनिक सङ्ख्या बढ्दै गएको कट्टेलले बताउनुभयो। कैलाली, कञ्चनपुर, अर्घखाँची, झापा, दाङ, बागलुङलगायतका जिल्लाबाट रङ्गशाला हेर्ने पुग्ने गरेका छन्।
निर्माण हुँदै गरेको रङ्गशालाको अवलोकन र तस्वीर खिच्नेको भीड लागेको छ। अहिले रङ्गशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ। भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने कामसमेत भइसकेको छ। मैदानको कालोपत्रका लागि ढुङ्गा बिछ्याउने काम भइरहेको छ। एक फिट मोटो ढलान गर्नुपर्ने भएकाले १ सय ४१ कामदार खटिएको कट्टेलले बताए।
रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ। रङ्गशालाका विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको छ। निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुनसकेको छैन।
८ करोड हाराहारी बोलकबुल भएकामा १ करोड रुपैयाँमात्र सङ्कलन भएको भन्दै कट्टेलले हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलबाहेक ३ करोड रुपैयाँ संकलन भएको बताए। रङ्गशाला सम्पन्न गर्न २ अर्ब ५० करोड खर्च हुने अनुमान छ। यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा लागत कम हुने उनले बताए।