विराटनगर– पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । धार्मिक पर्यटकका लागि सुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका लागि निकै फलदायी बन्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले बताए।
सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने तथा यी दुवै विमानस्थलबाट हलेसी र पाथीभरा दर्शन गर्न हेलिकप्टर उपलब्ध हुने प्रबन्धक सिंहले बताए।
प्याकेज टूरका लागि एक यात्रुले २३ हजार रुपैयाँ तिर्नुपर्ने र ती यात्रुले हवाईजहाज तथा हेलिकोप्टरको सुविधा पाउने भनिएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी ल्याइएको सो सेवाले नेपाल–भारतका तीर्थालुलाई लक्षित गरिएको छ।
२९ मंसिरदेखि सुरु हुने उक्त सेवाबाट यस क्षेत्रका होटल व्यवसायी र ट्राभल्स सञ्चालक उत्साही भएका ट्राभल्स एवं होटल व्यवसायी भविष्य श्रेष्ठले बताए।
मोरङ व्यापार सङ्घका अध्यक्ष एवं सीता एयरका प्रर्वद्धक प्रकाश मुन्दडाले नेपाल वायु सेवा निगमले फाटफुट उडान भर्ने सो स्थानका लागि सीता एयरले गरेको प्रयास सराहनीय बताए।