काठमाडौं– महिलाहरुको गम्भीर स्वास्थ्य समस्यामा एक स्तन क्यान्सर पनि पर्दछ। सामान्य विचार नपुया्उँदा र बेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कयौँ महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको छ। जनचेतनाको अभाव, गरिबी, अशिक्षा र अज्ञानताका कारण स्तन क्यान्सरबारे महिलाले कुनै जानकारीसमेत पाउँदैनन्।
महिलाहरूकाे स्तनमा भएका कोष–कोषिकाहरूमा असामान्य, अनियन्त्रित तथा अनावश्यक बृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ।
तपसिलका अवस्थामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छः
– वंशाणुगत कारणबाट आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरूमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलाहरूमा, बच्चा नजन्माएका महिलाहरूमा।
– स्तनपान नगराउने महिलाहरूमा,स्तनमा पहिलेदेखि नै गाठा गुठी वा पुराना समस्या भएमा, पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरूमा, चिल्लो र बोसोयुक्त खाना बढी खाएमा।
स्तनको क्यान्सरमा देखिने चिन्ह र लक्षणहरूः
स्तनको आकारमा परिवर्तन आउनु, स्तनमा गिर्खा फेला पर्नु, स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु, स्तनको छालाको रङ परिवर्तन हुनु, स्तनको मुन्टो भित्र गाडिनु र स्तनमा भएको घांउ लामो समयसम्म निको नहुनु।
सुरुको अवस्थामा स्तन क्यान्सर पत्ता लगाउने तरिकाः
नियमित स्वास्थ्य परीक्षण– स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट स्तनको नियमित परीक्षण गराउनुपर्दछ।
आफैँबाट आफ्ना स्तनको परीक्षण– स्तनमा नयाँ वा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भनी थाहा पाउन २० वर्ष पुगिसकेका महिलाले आफैँले आफ्ना स्तन राम्ररी छामेर पत्ता लगाउन सकिन्छ। यो सरल एवं व्यावहारिक तरिका पनि हो। महिलाले प्रत्येक महिना नियमित रूपमा आफ्ना स्तन आफैँले राम्ररी हेरेर तथा छामेर स्तनमा भएका गिर्खा वा परिवर्तन थाहा पाउन सक्दछन्।
दाहिने स्तनको परीक्षण देब्रे हातले र देब्रे स्तनको दाहिने हातले परीक्षण गर्नुपर्दछ। उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेला पर्न सक्छ। स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि स्तन देखिने गरी परीक्षण गर्नु उपयुक्त हुन्छ। यसरी परीक्षण गर्दा गिर्खा फेला परेमा चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए नभएको थाहा पाउन सकिन्छ।
स्तन क्यान्सरको निदानः
हिस्टोप्याथोलोजी– स्तनको प्रभावित भागबाट मासुको सानो टुक्रा निकाली प्रयोगशालामा ‘बायस्पी’ परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ। यस बाहेक क्यान्सर निदान गर्न अन्य परीक्षणहरू पनि आवश्यकता अनुसार गर्नुपर्ने हुन्छ।
एफएनएसी– स्तनमा आएका अस्वभाविक गिर्खाको कोष—कोषिकाहरू मसिनो सुईले झिकेर प्रयोगशालामा अनुसन्धान गरी क्यान्सर निदान गर्न एफएनएसी परीक्षण गरिन्छ।
स्तन क्यान्सरको उपचारः
महिलाहरूको उमेर ढल्किँदै गएपछि स्तन क्यान्सरको खतरा पनि बढ्दै जान्छ। बिरामीको अवस्था र शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा उपचार गर्नुपर्दछ।
रेडियोथेरापी– क्यान्सर भएका कोष–कोषिकालाई मार्न विकिरणको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि।
शल्यक्रिया– स्तन क्यान्सर लागेको भाग वा अङ्गलाई शल्यक्रिया गरी निकाल्ने प्रक्रिया।
केमोथेरापी– क्यान्सर विरुद्धको औषधीको प्रयोगद्वारा क्यान्सरको उपचार गर्ने पद्धति।
हर्मोनथेरापी– हर्मोनको प्रयोगबाट स्तन क्यान्सरको उपचार गर्ने विधि।
प्यालिएटिभ केयर– क्यान्सरका बिरामीको पीडा र असुविधा कम गर्न अस्पतालमै राखेर अपनाइने आवश्यक उपचार पद्दति। बिरामी र रोगको अवस्थाका आधारमा एक वा एकभन्दा बढी उपचार विधिको प्रयोग गर्नुपर्ने हुन सक्छ। पौष्टिक आहार, बिरामीको स्याहार–सुसार तथा परिवारिक स्नेहले क्यान्सर रोगको उपचारमा ठूलो महत्व राख्दछ।
स्तन क्यान्सरको रोकथामः
महिलाले आफ्नो स्तनको आफैँ परीक्षण गरी गाँठा वा गिर्खा फेला पारेमा तथा स्तन क्यान्सरका अन्य लक्षण देखेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँनुपर्दछ। सुरुकै अवस्थामा रोग निदान गरी उपचार गरे स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ।