काठमाडौ – तेह्रौँ दक्षिण एशियाली खेलकूद सागको समापनको दिन आज मंगलबार काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै मंगलबार जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ। यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो।
सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले आज सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।
खेल हेर्न आउने सबैका लागि पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्न भनिएको छ। यस्तै आज खेल हेर्न टिकट काटेका दर्शकलाई मूलगेट प्रवेश नगरी आर्मी अफिसर्स क्लबको गेटबाट प्रवेश गर्न आग्रह गरिएको छ।