बनेपा– जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–१ छोटेसाहनका किसान यतिबेला बारीमा लगाएको कोदो भित्र्याउने काममा व्यस्त छन्। मकैपछिको दोस्रो अन्नबालीका रुपमा खेती गर्दै आएका यहाँका किसान कोदोका बाला टिप्नका लागि गाउँले आपसमा मिलेर भित्र्याउने गर्छन्।
जिल्लाका विकट महाभारत र खानीखोला गाउँपालिकाका कृषकले विशेषगरी मकै र धानपछिको बाली कोदोको खेती गर्दै आएका छन्। त्यसरी लगाउँदै आएको बाली कोदो पाक्ने समय भएकाले त्यहाँका किसान यतिबेला कोदो टिप्न बारीमा व्यस्त बनेका हुन्। ‘कोदो धेरै लगाउने गरेका कारण हामी गाउँले आपसमा पालैपालो गरेर टिप्ने गर्छौं’, महाभारत–१ छोटेसाहनका किसान मन्दुमाया वाइवाले भने। त्यसरी उत्पादन गरेको कोदो घरमा नै खानका लागि र अन्य कामका लागि प्रयोग गर्ने गरेको उनले बताए।
खाएर बढी भएको कोदो भने बेच्नका लागि उचित मूल्य नपाउने भएकाले खाजा लगायतका अरू कार्यमा प्रयोग गर्ने गरेको किसान बताउँछन्। पोषणका दृष्टिकोणले महत्वपूर्ण बालीका रुपमा मानिएको कोदो दुःख गरेर खेती गरे पनि त्यसको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन्। कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षणको कार्यक्रम अगाडि बढाएको भए पनि विकट डाँडापारिका किसानले लगाउँदै आएको कोदोको संरक्षण र प्रवद्र्धन गर्ने विषयमा भने कुनै ध्यान दिएको पाइएको छैन।
जिल्लाको मण्डनदेउपुर, चाैँरीदेउराली र बेथानचोकमा रैथाने बाली संरक्षण र प्रवद्र्धनको कार्यक्रम शुरु गरे पनि महाभारत र खानीखोलामा भने सो कार्यक्रम नरहेको कृषि ज्ञानकेन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ। पहिला–पहिला बेच्नका लागि पनि बोकेर लग्नुपर्ने बाध्यता रहेकामा अब भने बल्ल सडक सुविधा पुगेर गाडी चल्न थालेकाले आम्दानीको स्रोत बन्ने आशामा रहेको किसान बताउँछन्।
यहाँका बासिन्दा कोदोको पीठोबाट ढिँडो, रोटी, खोलेलगायतका परिकार बनाएर खाने गर्छन्। कोदो लगाउने क्षेत्रफलको यकिन तथ्याङ्क नभए पनि महाभारतका बनखु, गोलटार, सानोपोखरा, ठूलोपोखरा, देउराली, बुढाखानी, घर्तिछाप, गोकुले, कुपिन्टार र खानीखोलाका विभिन्न स्थानमा कोदो खेती गरिदै आएको छ। (रासस)