भक्तपुर– गुण्डुका बासिन्दालाई खानेपानी पुर्याउने उद्देश्यले रु एक करोडको लागतमा शुरु भएको खानेपानी आयोजनाको शिलन्यास गरिएको छ।
सूर्य्विनायक नगरपालिका–७ गुण्डुमा गुण्डु वृहत खानेपानी समितिले निर्माण गर्न लागेको खानेपानी ट्याङ्की निर्माण र पाईपलाइन विस्तारकार्यको भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेत र नगर प्रमुख बासुदेव थापाले संयुक्तरुपमा आयोजनाको शिलान्यास गरेको हो।
नगरपालिकाको आर्थिक वर्ष २०७६०७७ को स्वीकृत योजना ६०–४० अन्तर्गत नगरपालिकाको रु ६० लाख र उपभोक्ताका तर्फबाट काठमाडौँ वल्र्ड स्कुलको रु. ४० लाख गरी कुल रु एक करोडको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न गरिनेभएको छ। निर्माण शुरु भएको आयोजनाअन्तर्गत दुई लाख लिटर क्षमताको ट्याङ्की निर्माण र पाईपलाइन विस्तार गरिने भएको छ।
योसँगै गुण्डुका अधिकांश ठाउँमा खानेपानीको पर्याप्त व्यबस्था हुने भएको छ। कार्यक्रममा सांसद बस्नेतले विकासमा बाधा पुर्याउने र निर्माणमा ढिलाई गर्नेलाई जनताले कारबाही गर्ने बताएको छ। विकासमा कसैले ढिलाई गरे त्यसबाट उत्पन्न जनआक्रोसलाई समर्थन गर्न जनप्रतिनिधि बाध्य हुने बताउँदै उहाँले कसैले पनि विकासलाई छेक्न र ढिलाई गर्ने कार्य नगरी सहयोग गर्न आह्वान गरे। (रासस)