काठमाडौँ, १७ माघ – बीमा समितिले बीमाङ्क (एक्चुरी)को सूची तयार पार्ने भएको छ। समितिले विश्वव्यापी रूपमा सूचना प्रकाशित गरी बीमाङ्कको सूचीमा सहभागी हुन आग्रह गरेको हो।
नेपालमा बीमा व्यवसाय शुरु भएको लामो इतिहास भए पनि नेपालभित्र बीमाङ्क नभएपछि स्वदेशमा नै दक्ष जनशक्ति उपलब्ध गराउने नभए मात्रै विदेशी कम्पनीलाई सहभागी गराउने लक्ष्यका साथ उक्त सूचना सार्वजनिक गरिएको हो।
समितिले केही दिन पहिले सार्वजनिक सूचना प्रकाशित गरी ४५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। समितिले कम्पनी र नियमनकारी निकायबीच आवश्यक समन्वय, बीमा व्यवसायको विश्वसनीयताका लागि पनि उक्त प्रयास गरिएको जनाएको छ।
नेपालमा जीवन बीमा र निर्जीवन बीमा गरी कुल ३९ कम्पनी कार्यरत छन्। एक बीमा कम्पनीको मूल्याङ्कन सहितको लेखापरीक्षणका लागि न्यूनतम रु. ४ लाखदेखि ४ लाख ५० हजारसम्म खर्च हुने गरेको छ।
यस्तै बीमा समितिले केही समय पहिलेदेखि लागू गरेको ‘एनएफआरएस’का लागि समेत सोही परिमाणमा रकम खर्च हुने गरेको छ। समितिले बीमाङ्कको उपाधि हासिल गरेकालाई सूचीमा सहभागी हुन आग्रह गरेको हो।
नेपालका अधिकाशं बीमा कम्पनीको लेखापरीक्षण नेपालमा नभई छिमेकी देश भारतमा हुने गरेको छ। राष्ट्रिय पूँजी विदेश गइरहेको पाइएपछि समितिले स्वदेशमा नै काम गराउने लक्ष्यसहित सूची तयार पार्न लागेको हो।
समितिले बीमाङ्कको नाम, नम्बर र ठेगानासमेत सूचीमा समावेश गर्ने भएकाले बीमा कम्पनीले सहजै उनीहरूलाई सम्पर्क गर्न सक्नेछन्।
जानकारहरूका अनुसार नेपालमा बीमाङ्कको उपाधि हासिल गरेकाको सङ्ख्या असाध्यै न्यून छ। जसका कारण ठूलो धनराशि विदेशिइरहेको छ। बीमा समितिले बीमाङ्कको सम्पूर्ण विवरणलाई अध्ययन गरेर सार्वजनिक गर्ने जनाएको छ।
युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बीमा कम्पनीको लेखापरीक्षण गराउन स्वदेशमा नै जनशक्ति खोजी गर्ने प्रयासलाई स्वागत गरेका छ। समयमा नै ‘एक्चुरियल’ लेखापरीक्षण हुन नसक्दा बीमा कम्पनीले तोकेको समयमा साधारणसभा गर्नसमेत पाएका छैनन्।
पछिल्लो पटक ‘एनएफआरएस’ लागू भएका कारण पनि समस्या परेको छ। समितिले भारत, बेलायत, अस्ट्रलियाका ५ कम्पनीलाई बीमाङ्कको काम गर्ने गरी सूचीमा राखेको छ। नेपाल स्टक एक्सचेञ्जमा विभिन्न ७ जीवन बीमा कम्पनी र १५ निर्जीवन बीमा कम्पनी सूचीकृत छन्। केही कम्पनी भने सूचीकृत भएका छैनन्। (रासस)