भोजपुर _ भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौँ सीधा यातायात शुरु भएको छ। यही मङ्सिर १६ गतेदेखि सेवा दिँदै आएको सुपर खोटाङ भोजपुर यातायात प्रालिले आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि भाडासमेत निर्धारण गरेको छ।
भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँमा सुमोको रु दुई हजार र बसको रु एक हजार ७०० भाडा निर्धारण गरिएको हो। सुमो प्रत्येक दिन बिहान ४ः ३० बजे भोजपुर डाँडागाउँ र ५ः४५ बजे देउरालीबाट छुट्ने प्रालिका अध्यक्ष दिवाशन राईले जानकारी दिए। अहिले सुमोबाट सेवा दिइने र यात्रुको चाप बढेमा आवश्यकतानुसार अरू यातायातका साधन सञ्चालन गरिने व्यवसायीले बताएका छन्।
छलफलमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले व्यवसायीलाई यात्राका क्रममा यात्रुसँग व्यवहार राम्रो गर्न, तोकिएभन्दा बढी भाडा नलिन तथा सुरक्षित तवरले गन्तव्यसम्म पु¥याउन आग्रह गरे। सो मार्गबाट काठमाडौँ– भोजपुरको दूरी ३६६ किलोमिटर छ। यो भोजपुर– काठमाडौँको सबैभन्दा छोटो मार्ग हो। रासस