सुनसरी–बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुनः म्याद थप गर्नका लागि अदालत लगिएको छ। विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत गिरीलाई दोस्रोपटक म्याद थप गर्नका लागि आज ११ बजेतिर जिल्ला अदालत सुनसरी लगिएको हो।
सुनसरी अदालतले केही दिनअघि बलात्कार मुद्धामा अनुसन्धानका लागि चार दिन म्याद थप गरेको थियो। म्याद थपपछि उनलाई उपचारका लागि पुनः अस्पतालमै राख्न अदालतले आदेश दिएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा खटिएको टोलीले उनलाई दोस्रो पटक म्याद थप गर्नका लागि अस्पतालबाट अदालत लगेको हो।
सिद्धबाबा कृष्णदास महराज भनिने गिरी अघिल्लो बिहीबारदेखि छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको उपचारका लागि भर्ना भएका थिए। १० दिनसम्म बिनाअक्सिजन समाधिमा बसेर आफूलाई सिद्ध पुरुष कहलाएका कृष्णदासलाई अझै अक्सिजनमा राखिएको छ।
महिला अनुयायीले ४ कात्तिकमा आफुलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई १६ मंसिर बिहान पक्राउ गरेको थियो।