काठमाडौँ– नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका अनुसार पछिल्लो दुई वर्षमा इन्टरनेट डेटा ट्राफिक तीन गुणाले बढेको छ। इन्टरनेटको खपत यति धेरै मात्रामा भइरहँदा नेपालीहरुले त्यसको प्रयोग चाहिँ के मा गरिरहेका छन् भन्ने बरेमा भर्खरै एनसेलले डाटा निकालेको छ।
तथ्याङ्क अनुसार कुल मोबाइल डेटाको ४५ प्रतिशत भिडियो हेर्नका लागि खर्च गरिरहेका छन्। जसमध्ये सबैभन्दा बढी २९.२३ प्रतिशत मोबाइल डेटा युटुबको भिडियो हेर्न खर्च भइरहेको छ भने दोश्रोमा एचटीटीपीएस वेब कन्टेन्टमा १३.७८ प्रतिशत डेटा खर्च भइरहेको छ।
त्यसै गरि ११.७९ प्रतिशत नेपालीहरु मोबाइल डेटा अज्ञात किसिमको कन्टेन्ट हेर्नमा खर्च गरिरहेका छन्। यस पछाडिको अनुमान के हो भने भीपीएन प्रयोग गरी पोर्न सम्बन्धि सामग्री हेर्नका लागि सो परिमाणमा मोबाइल डेटा खपत भइरहेको छ।
त्यसपछि भने मोबाइल डेटाको १०.१३ प्रतिशत फेसबुक भिडियोमा, ५.६८ प्रतिशत यूडीपीमा, ४.५३ प्रतिशत फेसबुक म्यासेन्जरमा, ४.३८ प्रतिशत फेसबुकमा, ३.९२ प्रतिशत टिकटकमा खर्च भइरहेको देखिएको छ।
यसका साथै गुगल प्लेमा २.६४ प्रतिशत, फेसबुक लाइटमा २.१९ प्रतिशत, इन्स्टाग्राममा १.५५ प्रतिशत, इमोमा १.४५ प्रतिशत, बीएमएफएफमा १.४४ प्रतिशत, ह्वाट्सएपमा १.३७ प्रतिशत र बाँकी डेटा अन्यमा खपत भइरहेको छ।