काठमाडौँ– नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले छिट्टै सवारी साधनको अवस्था पत्ता लगाउन सक्ने ‘भेहिकल ट्रयाकिङ् सिष्टम’ ल्याउने भएको छ। यातायातमा धेरै लगानी गरेका उद्योगी व्यवसायीलाई सहयोग र्पुयाउने उद्देश्यसहित यस्तो सेवाको सुरुवात गर्न लागेको हो।
यो प्रणालीले सवारी कहाँ छ, कहाँ पुग्यो, काम भएको ठाउँमा छ की छैन, कुन गतिमा गुडीरहेको लगायतका सम्पुर्ण जानकारी दिने बताइएको छ। डिसेम्बर महिनाभित्रै यस्तो प्रणाली कार्यान्वयनमा ल्याउने प्रयासमा एनसेल को दाबी छ।
कम्पनीको इन्टरप्राइज सेल्सका शाखा प्रबन्धक सुशिल विष्टले जानकारी दिए अनुसार गाडी हराएमा वा चोरि भएमा त्यसको वास्तविक अवस्था पत्ता लगाउन यो प्रणालीले सहयोग पुग्ने छ। ‘ढुवानीमा अहिले ठूलो समस्या छ। लागत बढी लाग्ने तर त्यस अनुसार प्रतिफल लगानीकर्ताले नपाएको हाम्रो अध्ययनले देखाएको छ ’ उनले भने ‘चालकले जथाभावी ट्रक चलाइदिने, एक ठाउँमा ट्रक रोकेर अर्को ठाउँमा छु भनिदिने प्रवृत्तिले लगानीकर्ता समस्यामा छन्। यसै किसिमको समस्या समाधानका लागि हामीले ट्रयाकिङ् प्रणाली ल्याउँदै छौं।’
चालकको लापरबाही नियन्त्रणदेखि इन्धन तथा मर्मत खर्च कम गराउँदै ढुवानी व्यवसायीलाई यो प्रणालीले सहयोग पुग्ने एनसेलको अपेक्षा छ।