काठमाडाैँ– म्यासेजिङ एप ह्वाट्सएपबाट ठगी गर्ने दुई जना पक्राउ परेका छन्। ह्वाट्सएपमा भारतीय मोबाईल नम्बरबाट म्यासेज गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहीले भक्तपुर बस्ने दुई जनालाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा स्थायी घर भइ भक्तपुरको कौशलटार बस्ने २२ वर्षीय अमिर थापा र भक्तपुरकै कमलबिनायकका २४ वर्षीय अमन अवाल रहेको प्रहरीले जनाएको छ। पेशाले विद्यार्थी रहेका उनीहरुले अमेरिकाबाट आईफोन, ल्यापटप, मोबाईल, क्यामरा, घडी, श्रृगार लगायतका सामानहरु सस्तो मुल्यमा पठाई दिने भन्दै ठगी गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले एक महिनाको समयावधीमा आठ लाख रुपैयाँभन्दी बढी रकम ठगी गरेको खुल्न आएको बताइएको छ। अनलाईनबाट सामान मगाई अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी ठगिमा परेको भए महानगरीय अपराध महाशाखा टेकुमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ।