बेनी– म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीका दिनमा मात्रै रु पाँच लाख २६ हजार बढी भेटी सङ्कलन भएको छ।
पर्वका अवसरमा गलेश्वरको दर्शन, पूजापाठ र शत्बीज छर्न आएका भक्तजनले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका कक्षको शुल्कसमेत गरी रु पाँच लाख २६ हजार १२३ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिए।
भक्तजनले चढाएको भेटिलाई सुरक्षाकर्मीको रोहोबरमा गणना गरी बैँकमा जम्मा गरिँदै आएको छ। यस वर्षको बालाचर्तुदशीमा गलेश्वरमा अहिलेसम्मकै बढी भक्तजन भित्रिएका कारण भेटी रकम समेत बढी सङ्कलन भएको कोषाध्यक्ष पुनले बताएका छन्।
कालीगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा सोमबार शत्बीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको थियो।
यसवर्षको बालाचर्तुदशीमा आएका भक्तजनको सङ्ख्या अहिलेसम्मकै धेरै रहेको र सङ्कलन हुने भेटी रकमसमेत बढेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए। सोमबार बालाचर्तुदशीको अवसरमा गलेश्वरमा ५० हजार बढीले दर्शन तथा पूजापाठ गरेका कोषले जनाएको छ। बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शत्बीज छर्ने चलन छ।
शत्बीज छर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, काठमाडाै, चितवन, नवलपरासी लगायतका ठाउँबाटसमेत ठूलो संख्यामा भक्तजन गलेश्वर आएका कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए। गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थमा उल्लेख छ। रासस