गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।
गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरूसँग छलफल गरी ती मेडिकल कलेजहरूमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाएका हुन्।
उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिए।
विद्यार्थी संगठनका नेताहरूलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराउँदै खाँणले संविधान र कानुनको परिधिभित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए।
विद्यार्थीले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरूले दादागिरी देखाएको भन्दै उनीहरूमाथि तत्काल कारबाही गर्न गृहमन्त्रीसमक्ष आग्रह गरेका थिए।