काठमाडौं– सार्वजनिक सवारी साधनको भाडादरमा सहूलियतको प्रावधानलाई साबिककै व्यवस्था बमोजिम कडाईका साथ पालना गराउन कानूनका विद्यार्थीहरुले सोमबार यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
विद्यार्थीहरुले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई पत्र बुझाउँदै सहुलियत नदिएको वर्तमान परिस्थितिमा यस समस्यालाई समाधानका लागि रचनात्मक समाधानका उपाय पनि सुझाएका छन्।
घिमिरेले यस समस्याको बारेमा आफ्नो ध्यान आकर्षण भएको बताउँदै सहुलियत सम्बन्धी नियमलाई चुस्त रूपमा कार्यान्वयनमा लैजान छिट्टै नै विभागबाट निर्देशनात्मक सूचना निकालिने जानकारी गराए। उनले विभागले टिकट प्रणालीमा भाडादरमा सहुलियत प्रदान नगर्नेलाई तुरुन्त विभागको कार्यालय वा नजिकैको ट्राफिक प्रहरीलाई गुनासो राख्न समेत सुझाएका छन्।
उनले सार्वजनिक सवारीमा भाडा तिर्न अब स्वचालित स्मार्ट कार्ड लागू हुने र यसले भाडा भुक्तानी गर्न यात्रुलाई सहज हुने पनि बताए।
‘सामान्य स्थिति उन्मुख हुँदै गएको वर्तमान परिस्थितिमा सार्वजनिक सवारी पनि पूर्ण क्षमतामा चल्न थालेका छन्। यसै समयमा विश्वविद्यालय, कलेजहरूमा पनि भौतिक रूपमा उपस्थित गराई परीक्षा, पठनपाठन शुरु गर्न थालिएको छ,’ ध्यानाकर्षण पत्र बुझाउने विद्यार्थिमध्येकी एक सुप्रिया जबेगुले नेपाली पब्लिकसँग भनिन्, ‘त्यसैले यस अवस्थामा देशैभरिका विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता हुनुभएका व्यक्तिहरूलाई सार्वजनिक सवारीको भाडादरमा सहुलियतसम्बन्धी प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन गराउन, हामीले विभागमा अनुरोध गरेका छौँ। र हामीले यस सम्बन्धमा यातायात व्यवस्था विभआगबाट तुरून्त सूचना निकाल्न पनि माग गरेका छौँ।’
‘विद्यार्थीको मागमुद्दालाई यथोचित समाधानका लागि हामी रचनात्मक तवरले लागिरहेका छौँ, र साथसाथै हामीले यस ध्यानाकर्षण बुझाउने कार्यलाई कानुनको विद्यार्थीको नाताले एक नैतिक रूपमा गर्नुपर्ने कार्यको रूपमा पनि लिएका छौँ।’ अर्का विद्यार्थी नवीन खत्रीले भने।
यसैगरी विद्यार्थीहरूले रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि पुगेर सहुलियतको साबिकको व्यवस्थालाई नियमन गर्न आग्रह गरेका छन्। उक्त महाशाखाका प्रहरी नायब उपरीक्षक सुवास खड्काले विद्यार्थीको ध्यानाकर्षणलाई मनन गरेको बताउँदै यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा सहुलियतको प्रावधानलाई चुस्त रूपमा कार्यान्वयनमा लैजाने बताउनुका साथै आनाकानी गर्ने सवारीलाई कारबाहीको दायरीमा ल्याइनेसमेत चेतावनी दिएका छन्।

