नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावमा समर्थन जनाउँदै उनले मनोगत, अहङ्कार र व्यक्तिवादी गतिविधि आफूहरूलाई स्वीकार्य नहुने धारणा व्यक्त गरे ।
निरङ्कुशताविरुद्धको आन्दोलन दलहरू मिलेर गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक वर्षका बीचमा प्रतिनिधिसभाको विघटन र सर्वाेच्च अदालतबाट पुनस्र्थापनाका घटना नेपालको इतिहासमा नभएको बताए ।
राजनीतिक स्थिरताका लागि वाम गठबन्धन हुँदै दुई तिहाइको सरकार बनाउने र पार्टी एकताको पहलकर्ताले पटकपटक संसद् विघटन भएको देख्नु दुखद भएको उनले बताए । अध्यक्ष प्रचण्डले बारम्बार संविधान र लोकतन्त्रलाई मिच्ने कोसिस भएकाले नयाँ सत्ता गठबन्धन निर्माण गर्नुपरेको अवगत गराए ।
उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देउवाको शपथग्रहण समारोह र आजको सदनको बैठकमा सम्बोधन गर्न नआउनु भएकामा आफूलाई अस्वाभाविक लागेको टिप्पणी गरे ।
उनले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीमा व्यक्तिवाद, अहंकारवाद, चरम महत्वाकांक्षा रहेको बताए । उनले भने, ‘भन्ने एउटा गर्ने अर्को ? त्यसको साक्षी हामी थिएनौँ ? हामी ज्युँदै छौँ र उपस्थित छौँ के, अब चल्दैन । किन पत्याउने तपाईंलाई ? गोहीको आँशु देखाउने ? प्रणालीको चिन्ता अझै ?’
आफूलाई युद्ध हारेर आएको भनिएको भन्दै प्रचण्डले आक्रोस पोखे । उनले आगोसँग नखेल्न पनि चेतावनी दिए । उनले भने, ‘आगोलाई फेरि चलाउन नखोजनुस् ओलीजी, सुषुप्त भएको आगो फेरि चलाउनुभयो भने यसले खरानी पार्न सक्छ ।’