रुकुम (पूर्व) मा कोभिड– १९ को परीक्षणका लागि ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । किट पर्याप्त नहुँदा कोरोना परीक्षण दुई सातादेखि रोकिएको छ। किट अभावकै कारण जिल्लामा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको छ। हालसम्म भारतलगायत अन्य मुलुकबाट १६२ नागरिक भित्रिएका छन्।
देशका विभिन्न जिल्लाबाट भने एक हजारभन्दा बढी नागरिक भित्रिएका छन् । भित्रिने मानिसको संख्या धेरै भएपछि परीक्षण किट नहुँदा समस्या भएको हो। हालसम्म प्रदेश सरकारले कोरोना परीक्षणका लागि १६० मात्रै किट पठाएको छ। ती किटले विदेशबाट आएका १२९ जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताएका छन्।
यहाँका तीनै गाउँपालिकामा कोरोना परीक्षण गरिएको थियो। सिस्ने गाउँपालिकाका १०३, भूमे गाउँपालिकाका १८ र पुथाउत्तरगंगा गाउँपालिकाका आठ जनाको कोरोना परीक्षण गरिएको हो। त्यसमध्ये चार कैदी हुन्। बाँकीको किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन। हाल जिल्लामा २९ किट बाँकी छन्। ती किटले तत्काल कोही सम्भावित संक्रमित भेटिएमा परीक्षण गर्ने बताइएको छ। किट उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको प्रमुख शर्माले बताएका छन्। (रासस)