एजेन्सी– भारतको माओवादी विद्रोहीद्वारा छत्तीसगढ राज्यमा शनिवार गरेको हमलामा १७ प्रहरीको मृत्यु भएको भारतीय अधिकारीले जानकारी दिएका छन्।
सुकमा जिल्लाको जंगलमा रहेको पुलिस कमाण्डो गस्तीमा भएको आक्रमण पछिल्ला वर्षहरूमा प्रहरीमाथि भएको भीषण आक्रमणका रूपमा लिएको भारतीय प्रहरीका एक प्रवक्ता अधीक्षक शलाब सिन्हाले बताए। आक्रमणपछि आइतवार नै उक्त जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी पठाइएको राज्य सरकारले जानकारी दिएका छन्।
स्थानीय प्रहरी सुपरिटेन्डेन्ट शलाब सिन्हाले एएफपीलाई दिएको जानकारीअनुसार करिब ३ सय सशस्त्र नक्सलवादी विद्रोहीले प्रहरीको कमाण्डो फोर्समाथि आक्रमण गरेपछि प्रहरीतर्फ यति ठूलो संख्यामा क्षति भएको हो।
सिन्हाले भने, ‘हामीले १७ प्रहरी अधिकारीको मृत शरीर घटनास्थलबाट संकलन गरेका छौँ भने १५ जना प्रहरीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छौँ।’ प्रहरीका अनुसार झडपमा चार माओवादी लडाकु पनि मारिएका छन्।
सन् २०१७ को अप्रिलदेखि प्रहरीले थालेको अतिवादी वामपन्थी गुरिल्लाविरोधी कारबाहीमा ठूलो संख्यामा विद्रोहीले क्षति व्यहोरेको छ। माओवादी विद्रोहीको आक्रमणमा सन् २०१७ मा २५ प्रहरीको मृत्यु भएपछि प्रहरीलाई सशक्त बनाई कारबाही थालिएको थियो।