धनुषा, १६ माघ –नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राजतन्त्र समाप्ति र गणतन्त्र प्राप्तिका लागि शहीद दुर्गानन्द झाले पुर्याउनुभएको योगदानको स्मरण गर्दै स्मारक बनाउनुपर्नेमा जोड दिएका छन्।
शहीद दुर्गानन्द झाको ५५औँ पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस नगर कमिटी र रामनारायण मिश्र चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले भने, स्मारक बनाउन तत्काल सबै सम्मिलित एउटा समिति बनाउनुस्, मेरो पूर्ण सहयोग रहनेछ।
कांग्रेस उपसभापति निधिले शहीद झाको जीवनमाथि बनाइएको ‘काशीदेवी’ नामक नाटक निकै प्रेरणादायी रहेको बताउँदै उक्त नाटक जनकपुरलगायत विभिन्न स्थानीय तहमा पनि प्रदर्शन गराउने व्यवस्था मिलाउन कांग्रेसका जिल्ला नेतालाई सुझाव दिए।
उनले प्रदेश नं २ को नामाकरणका सवालमा आफ्नो पार्टी स्पष्ट रहेको भन्दै यस प्रदेशको नाम मिथिला वा मिथिला–भोजपुरा राख्नुपर्ने तर्क अघि सारे।
एक प्रसङ्गमा उपसभापति निधिले जनस्वास्थ्यलाई दीर्घकालीन प्रतिकूल असर पार्ने चुरोट कारखाना जनकपुरधाममा सञ्चालन गर्न नहुने बताउँदै कारखाना खोल्न खोजिए काङ्ग्रेसले आन्दोलन गर्ने चेतावनी दिए।(रासस)