एजेन्सी, १६ माघ –इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा साबिक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ। लिग तालिकाको १७ औं स्थानमा रहेको न्युक्यासल युनाइटेडविरुद्ध सेन्ट जेम्स पार्क स्टेडियममा २–१ गोलको झिनो अन्तरले सिटी स्तब्ध बनेको हो।
न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा संघर्षपूर्ण जित दिलाउन सलमोन रोनडोन र माट रिट्चीले गोल गरे। खेलको पहिलो मिनेटमै सर्जियो अग्वेरोकाे गोलबाट लिएको अग्रता जोगाउन नसक्दा सिटीकाे पछिल्लाे चार खेलकाे अपराजित यात्रामा पुर्णविराम लागेकाे हाे।
खेलको पहिलो मिनेटमा डिभिड सिल्भाको पासलाई अग्वेरोले जाली चुमाउँदै सिजनको ११ औँ व्यक्तिगत गोल गरे। १–० गोलको स्थितिमा पहिलो हाफ सिटीको पक्षमा टुंगिएको थियो।
गोलका लागि संघर्षरत घरेलु टोली ६६औँ मिनेटमा रोनडोनको गोलमार्फत खेलमा फर्कियो। बराबरी गोलसँगै आक्रमक शैलीमा प्रस्तुत भएको न्युक्यासलका लागि माट रिट्चीले ८०औँ मिनेटमा गोल थप्दै जित सुनिश्चित गरे।
हारसँगै सिटीले लिगलिडर लिभरपुलसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ। सिटीले २४ खेलमध्ये १८ जित, २ बराबरी र ४ खेलमा पराजय व्यहोर्दै ५६ अंक जोडेको छ। एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुको ६० अंकले छ। न्युक्यासल २४ अंकका जोड्दै १७ औँ स्थानबाट १४ औँ स्थानमा उक्लिएको छ।
बुधबार राति नै सम्पन्न अन्य खेलमा फुल्हामविरुद्ध ब्राइटन ४–२ गोलअन्तरले विजयी भयो। त्यस्तै, हडर्सफिल्डविरुद्ध एभर्टन ०–१ गोलले स्तब्ध हुँदा वेस्टह्यामविरुद्ध वोल्भ्सले ३–०जित निकाल्यो। त्यस्तै, घरेलु मैदानमा आर्सनल विरुद्ध कार्डिफ २–१ गोलले विजयी भएको छ।