वीरगञ्ज, १६ माघ –संघीय संसद सदस्य प्रदीप यादवले वीरगंज महानगरपालिका –९स्थित १० विगाहा क्षेत्रफलमा बन्न लागेको मधेसी सहिद पार्क बनाउन कसैले रोक्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेस पर्साले बुधबार हुन लागेको मधेसी सहिद पार्कको शिलान्यास रोक्न माग गरेपछि सांसद यादवले यस्तो बताएका हुन्। पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले भने, ‘कुनै शक्ति आएपनि मधेसी सहिद पार्क निर्माण कार्य रोकिँदैन।’
‘यो जमीन यहाँको जनताले रगत पसिना बगाएर तिरेको पैसाले किनिएको हो। यस जग्गामा मधेसी सहिद पार्क निर्माण कुनै पनि हालतमा हुन्छ। हामीलाई कसैले रोक्न सक्दैन’, संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्षसमेत रहेका सांसद यादवले भने।
सो जग्गा वीरगंज महानगरपालिकाले २०६० सालमा यातायात संस्थानसँग १० करोड रुपैयाँमा किनेको हो।
नेपाली कांग्रेस पर्साले पत्रकार सम्मेलन गर्दै सो जग्गामा वीपी उद्यान पार्क निर्माण गर्ने निर्णय यसअघि नै भइसकेकाले शिलान्यास कार्यक्रम रोक्न भनेको छ। मधेसी सहिद पार्क बनाउने निर्णय आफुहरुलाई मान्य नहुने र बलमिच्याइँ गरिए मुठभेटको स्थिति आउने बताएको छ।
वीरगंजका मेयर विजय सरवागीले भने पार्क शिलान्यास कार्यक्रमबारे कुनै जानकारी नआएको बताए।