काठमाडौँ, १५ माघ –नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफुहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने बताए।
उनले भने, ‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।’ साक्षात्कारमा बोल्दै अध्यक्ष महरले स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि बताए। आफ्नो संगठनले एक महिनाअघि नै स्ववियु निर्वाचन फागुण १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाईसकेको पनि महरले बताए। उनले भने, ‘अहिलेपनि हामी यो निर्णयमा कायमै छौं।’
वर्तमान सरकार सबै मोर्चामा असफल भएको महरको आरोप थियो। उनले भने, ‘सरकारले जनता र विद्यार्थीलाई प्रताडित गरिरहेको अवस्थामा, देशैभरि उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको बेलामा, सबै विद्यार्थीहरुलाई थाहा छ कि सरकार जनताको अधिकारमाथि नै धावा बोलिरहेको छ।’
स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने तागत कसैको नभएको पनि उनले उद्घोष गरे। उनले भने, ‘हामी प्रजातान्त्रिक संगठन भएका कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो। त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन। हामी भाग्दैनौं। हामी भाग्छौँ भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो।’
अध्यक्ष महरले स्ववियु निर्वाचनबारे आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको सुनाउँदै आफुले नेविसंघ जुनसुकै बेला चुनावमा जान तयार रहेको कुरा स्पष्टसँग राखेको जनाए। उनले भने, ‘तर, सडकमा तपाईले विद्यार्थीको टाउकोमा लाठी बर्साउने, टाउको फुटाउने। विद्यार्थीलाई जेलभित्र हालेर स्ववियुको निर्वाचन सम्भव छ?’ उनले वर्तमान सरकार निर्वाचित सबै संस्थाहरुलाई ‘कोल्याप्स’ गरेर निरंकुश व्यवस्था लाद्न चाहेको आरोप पनि लगाए। उनले भने, ‘त्यसको शुरुवात सरकारले स्ववियु निर्वाचनबाट गर्न खोजिरहेको छ।’
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको आरोप लगाए। उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए।
उनले भने, ‘स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने हाम्रो दायित्व छ। हामी संगठनहरु पनि स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिस्पर्धाको निम्ति तयार छौँ।’
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भय नेविसंघमा देखिएको सुनाउँदै तामाङले भने, ‘कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित हुनुहुँदैन।’