काठमाडौँ, १५ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति प्रक्रिया टुंगिने अवस्थामा पुगेकाले यसमा अवरोध गर्नु उपयुक्त नभएको बताएका छन्।
१८औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हल चोकमा सम्बोधन गर्दै ओली विगतको द्वन्द्वरत पक्ष शान्तिपूर्ण राजनीतिमा आइसकेको र शान्ति प्रक्रियाका अधिकांश काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा विगतका घाउलाई कोट्याइनु उपयुक्त नभएको बताएका हुन्।
‘हिजोका घाउ चोटलाई बल्झाउने प्रयास भएका छन्। हामीले द्वन्द्वमा अनावश्यक रुपमा फस्नु हुँदैन,’ ओलीले भने, ‘हिजोका क्षति सम्झाएर थप क्षति गर्नेतिर लाग्नु हुँदैन। यस्ता तत्वहरुको पहिचान गरेर तिनलाई निस्तेज पार्नुपर्दछ। किनभने सबै नेपालीको साझा आकांक्षा शान्ति हो।’
प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा शान्ति प्रक्रियालाई बल्झाउन खोज्नेहरुका बारेमा सरकार जानकार रहेको बताए। ‘हामी राजनीतिको कठोर यात्रापार गरेर यहाँसम्मआइपुगेका छौं। अब पछाडि फर्कने कुरा हुन सक्दैन। देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्,’ ओलीले भने, ‘त्यसैले व्यवस्थापन भइसकेको शाान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सैह्य हुँदैन।’
ओलीले वर्तमान सरकारले देशलाई अघि बढाउने कार्यभार लिएको बताएका छन्। ‘सरकार देशमा सुशासन र समृद्धि ल्याउन हर तरहले प्रयत्नशील छ। यसमा सुरक्षा निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले सरकारले शुन्य भ्रष्टाचारको नीति अवलम्बन गरेको दोहोर्याए। यसका लागि भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा अंगहरुलाई पनि चनाखो हुन आग्रह गरे।
‘शान्ति सुरक्षा र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका निकायहरुले गैरकानूनी दोहन गर्ने कुरा उपयुक्त हुँदैन,’ ओलीले भने, ‘यसमा सबैजना सजग हुनुपर्दछ।’
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले छोटो समयमा नै असाधारण प्रगति गरेकोमा प्रशंसा गरेका छन्।