काठमाडौँ, १५ माघ – नेपाल विद्यार्थी संघका २७ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय सदस्यहरु गणेश सापकोटा, सुशील भट्ट, शशांकश्री न्यौपाने, निरञ्जन थापा लगायतलाई प्रहरीले पक्राउ गरेको हो।
त्यसैगरी, रमेश बस्ताकोटी, पावल बज्राचार्य, सुवास घिमिरे, दीपेश ओली, सन्तोष गुरुङ, मनिष सिंखडा, सन्देश पन्त, किरण भट्टराई, सुबोध ओली, प्रदीपजंग शाह, सौरभ घिमिरे लगायत २७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
सत्याग्रही डा. गोविन्द केसीसँग भएका सम्भौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको, गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा स्थापित अस्पताल संघीय सरकारकै मातहतमा रहनु पर्ने, कञ्चनपुरकी बालिका १३ वर्षीय निर्मला पन्तका हत्यारालाई कारवाही गर्नुपर्ने लगाएका माग राखे नेवि संघले प्रदर्शन गरेका हुन्।
नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेको अगुवाईमा प्रदर्शनमा उत्रिएका नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो। पक्राउ परेका नेता–कार्यकर्तालाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।