काठमाडौं, १५ माघ –नेपाली क्रिकेट क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय स्तरको रंगशालाको अभाव परिपूर्ति हुने भएको छ। हास्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा बन्ने निश्चित भएको छ।
निर्माणकर्ता फाउण्डेशनले देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण हुने रंगशाला बहुउद्देश्यीय र मौलिक डिजाइनमा निर्माण गरिने बताएको छ। सर्वसाधारणबाट चन्दा संकलन गरेर निर्माण गर्न लागिएको रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेल खेल्न सकिने गरी डिजाइन गरिएको छ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यमा रंगशाला निर्माणको घोषणा गर्ने फाउण्डेशनले तयारी गरेको छ। भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुने रंगशालको निर्माता फाउण्डेशन र महानगरपालिकासंग बुधबार नै सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।