एजेन्सी, १४ माघ – खेलमा पार्ट टाइम बलिङ गरेकै कारण भारतीय ब्याटस्म्यान अंबाती रायडुलाई आईसीसीले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नका लागि निलम्बन गरेको छ। सिड्नीमा भएको अस्ट्रेलिया विरुद्धको एकदिवसीय खेलमा रायडुले २ ओभर बलिङ गरेका थिए।
ब्याटस्म्यानको रुपमा परिचित रायडुको बलिङ एक्सनलाई लिएर उनीमाथि आपत्ति उठेको थियो। उनले १३ जनवरीमा अस्ट्रेलियाविरुद्ध बलिङ गर्दै विना विकेट १३ रन खर्चेका थिए। आईसीसीले सोमबार एक ट्वीट गर्दै रायडुलाई निलम्बन गरिएको जानकारी दिएको हो। आईसीसीले भनेको छ, ‘आईसीसीबाट दिएको १४ दिनको समयमा रायडु आफ्नो बलिङ रिपोर्ट पेश गर्न असफल भएका छन्।
सोही कारण परिषद्को नियमावली अनुसार उनलाई निलम्बन गरेकाे छ। रायडुमाथिको निलम्बन उनको बलिङको परिक्षण नभइन्जेल सम्मका लागि लागू हुने आईसीसीले बताएको छ। आईसीसीले घरेलु क्रिकेटमा रायडुलाई बलिङ गर्न पाउने अनुमति दिएको छ।
३३ वर्षीय रायडुले भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार घरेलु क्रिकेटमा बलिङलाई निरन्तरता दिन सक्नेछन्। बलिङ गर्ने क्रममा बलरको हात १५ डिग्री भन्दा धेरै घुमेको खण्डमा आईसीसीले अवैध मान्ने गरेको छ। रायडु अहिले न्युजिल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीका लागि राम्रो फर्ममा रहेर ब्याटिङ गरिरहेका छन्।
https://twitter.com/ICC/status/1089795913617367042