काठमाडौं, १४ माघ – यूएईमा जारी ३ एकदिवसीय क्रिकेटको अन्तिम दिन जारी खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेको हो।
खेलको शुरुमा अस्तव्यस्त बनेको यूएईलाई सम्मानित लक्ष्यसम्म पुर्याउनका लागि छैटाैं नम्बरका ब्याटस्म्यान शाहिमन अनवारले शानदार पारी खेले। उनले २ छक्का र ९ चौकाको मद्दतमा ७० बलमा ८७ रन जोडेका हुन्। यूएईका लागि अनवारका साथै रिजवानले ७६ बल खेल्दै ४५ रन र अभिजित रहेका मोहम्मद बुटाले २७ बलमा ४३ रन जोडे।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाली टोलीले उत्कृष्ट बलिङ गर्दै इनिङको शानदार शुरुआत गरेको थियो। दोस्रो ओभरमा सोमपाल कामीले यूएईका अस्फाक अहमदको विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
त्यस्तै, नेपाली वलिङसामु फितलो साबित भएको यूएईले छैठौँ ओभरमा दोस्रो विकेट गुमायो। नेपाली बलर करण केसीले यूएईका चिराग सुरीलाई सुन्य रनमा आउट गर्दै टोलीलाई दोस्रो सफलता दिलाएका थिए। जोडदार बलिङ गरेको नेपाली टोलीले दश ओभरको पावर प्लेमा यूएईलाई १० रनमा रोकेको थियो।
त्यस्तै १९ औं ओभरमा व्यक्तिगत दोस्रो ओभर बलिङ गरेका युवा स्टार बलर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाए। सन्दीपले गुलाम सब्बीरलाई १८ रनमा एलबि डब्लु आउट गदै सब्बीर र मोहमद उस्मानको ४५ रनको साझेदारी तोडेका थिए।
टस हारेर पहिले ब्याटिङ गरिरहेको यूएईले २० औं ओभरमा चौथो विकेट गुमाउँदा नेपाली टोलीका कप्तान पारष खड्कालाई पहिलो सफलता मिल्यो। पारषले आफ्नो छैठौं ओभरको दोस्रो बलमा मोहमद उस्मानलाई २६ रनमा आउट गर्दै नेपाली टोलीका लागि चौथो सफलता दिलाएका थिए।
चौथो विकेट गुमाएपछि सम्हालेर ब्याटिङ गरेको यूएईले ३० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ८३ रन जोडेको थियो। यूएईले ३४ ओभरमा १०० रन पूरा गरेको थियो। पाँचौं विकेटका लागि लामो समय पर्खनु परेको नेपाललाई करण केसीले विकेट दिलाए।
केसीले यूएईको महत्वपूर्ण साझेदारीलाई तोड्दै सिपी रिजवानलाई पबिलियन फर्काए। नेपालका लागि महत्वपूर्ण साझेदारी तोडेका केसीले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए। रिजवानले पाँचौ विकेटका लागि शाईमन अनवारसँग सय रनको साझेदारी गरेका थिए। त्यस्तै, नेपालका लागि छैठौं सफलता कप्तान पारस खड्काले दिलाए। उनले अर्धशतक बनाएका शाईमन अनवारलाई ७९ रनमा आउट गरे।
नेपालका कप्तान पारस खड्का र करण केसीले २–२ विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए।