काठमाडौं, १४ माघ – राष्ट्रियसभाको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गरेका छन् ।
आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरुले बैठकलाई अवरोध गरेका थिए । अवरोधका बीचमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज शून्य, विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी दिएका छन्।
नेपाली काङ्ग्रेसका सांसदहरूकाे नाराबाजीकाबीच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गरेका छन्।
अध्यक्ष तिमल्सिनाले बैठक आधा घण्टाका लागि बैठक स्थगन गरेका छन्। राष्ट्रियसभाको आजको पहिलो बैठक पनि नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको थियो ।
आफ्ना शीर्ष नेता स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै काङ्ग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो ।
यसअघि माघ दुई र सात गतेको बैठक पनि काग्रेसले सोही कारण अवरुद्ध गरेको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा ठूला अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा काङ्ग्रेसले आपत्ति जनाउँदै आएको छ । (रासस)